मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको कांग्रेस प्रदेश संसदिय दलका नेता कमल शाहले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।
शाहले दावी पेश गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।नवनियक्त मुख्यमन्त्री शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सक्नुभएन ।




















