रविको दोहोरो राहदानी(पासपोर्ट)प्रकरणमा सरकारी वकिलको कार्यालयले मगायो कागजात।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरी (मुद्दा ) मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले
आवश्यक कागजात संकलन सुरु गरेको छ।

मंगलबार जाहेरी परेपछि बुधबार सरकारी वकिलको कार्यालयले विभिन्न तीन निकायबाट रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात मगाएको हो ।

लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको थियो ।

लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गरेका हुन् ।

सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।