काठमाडौं := सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ । खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँकै निवास खुमलटारमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गर्नुभएको थियो । उहाँहरुबीच करिव साढे २ घण्टा छलफल भएको थियो । दुई वर्षपछि ओली प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । यसअघि एउटै पार्टी नेकपामा हुँदा २०७७ पुस ४ गते ओली खुमलटार पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।
दुई नेताबीच आज भएको भेटमा आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ। खुमलटारमा उहाँहरुबीचकाे छलफल क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’ अध्यक्ष ओलीले भर्खरै सरकार गठन भएको र अब सरकारलाई कसरी अगाडि बढाउने लगायत समसामयिक विषयमा पनि कुरा भएको बताए ।
नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।भोलिको बैठकमा सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तयलगायत विषयमा छलफल हुनेछ ।




















