स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल आकांक्षीसमेत रहेका उनीसँग यही सेरोफेरोमा कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेस बर्दियामा स्पष्टीकरण र कारबाहीको आतंक मच्चाइएको छ भनिन्छ? खास कुरा के हो?
स्थानीय तह निर्वाचन २०७९, बर्दिया जिल्लाको हकमा २ गाउँपालिका र ६ नगरपालिकामध्ये १ गाउँपालिका र ४ नगरपालिकामा गरेर ६२.५ % कांग्रेसले जितेको छ भने २५ % नेकपा एमाले र १२.५ % नेकपा माओवादी केन्द्रले ल्याएको छ। तर स्थानिय तह निर्वाचन-२०७४ बर्दिया जिल्लाको हकमा काङ्ग्रेसले १ गाउँपालिका र १ नगरपालिका गरि २५% मात्र जितेको थियो।
यो रिपोर्टले ५ वर्षको अन्तरालमा नेपाली काङ्ग्रेसले बर्दिया जिल्लामा धेरै नै सुधार गरेको देखिन्छ। तर विडम्बना १ गाउँपालिका र २ नगरपालिका नेपाली काङ्ग्रेस जीत हासिल गर्न सकेन। जित हासिल गरेको पालिका आफूले स्वामित्व लिन खोज्ने, मैले जिताए भन्ने अनि हारेको पालिका अरुमाथि थोपार्ने, फलानोले अन्तरघात गर्यो, चिलानोले गद्धार गर्यो भन्ने जुन केही केन्द्रीय नेताहरूको मनोवपज्ञान छ, हो त्यही गलत मनोविज्ञानको कारण आज बर्दिया जिल्लामा काङ्ग्रेसभित्र भ्रमसहितको आतंक मच्चिएको छ।
विधि, प्रक्रिया र विधान विपरित राजनीतिक पूर्वाग्रही सोच राखेर कसैलाई कारबाही गर्छु भनेर सोच्नु पार्टी र निर्देशन दिने नेता दुबैको लागि घातक हो। अरुलाई स्पष्टीकरण र कारबाहीको आतंक मच्चाउनुभन्दा टिकट वितरण गर्ने समिति र टिकट बाँड्ने जिम्मेवार नेताले जितेको र हारेको सबै पालिकाको नैतिक जिम्मेवारी लिनुपर्छ।
विधि, प्रक्रिया र विधान विपरित कसरी कारबाही गरिएको छ? तपाईँ र केन्द्रीय नेता डा. गोपाल दहित पनि स्पष्टीकरणमा पर्नुभएको छ। अन्तरघात नै गर्नु भएको हो?
नेपाली काङ्ग्रेस २५ वर्ष पछाडि हाम्रो राजापुर वडा न २ वडा विजय प्राप्त गरेको छ। हाम्रो मेयरको उम्मेदवार दिपक जंग शाहले पनि २०७४ को भन्दा अहिलेको स्थानीय २०७९ निर्वाचनमा बढी मत पाउनु भएको छ। योभन्दा अगाडी २०७४ को स्थानीय निर्वाचनमा माओवादीका अध्यक्ष धनिधर थारुले हाम्रो वडामा २०३ मतले विजय र माओवादीकै मेयरले २५१ भन्दा बढी मत पाएका थिए भने अहिलेको २०७९ को स्थानीय निर्वाचनमा काङ्ग्रेसको वडा अध्यक्ष रामचन्द्र चौधरीले ११९ मतले विजय र माओवादीको मेयर दिपेश थारुले हाम्रो वडाबाट जम्मा १ मत पाउनु भएको छ।
आज सबैको साझा प्रयासबाट माओवादीको लाल किल्ला भत्काउँदै हाम्रो वडालाई जिताएका छौं। तर, विडम्बना आज आफ्नै काङ्ग्रेसले जितेको वडा जिताउन नसक्ने नेताहरू यही २ नं वडालाई जोडेर केन्द्रीय सदस्य डा. गोपाल दहित र नगर सचीव सिताराम थारुले अन्तर्घात गरे भनेर मिथ्या आरोप लगाउँदै राजनीतिक चरित्रहत्या गर्न खोज्दैछन्। नेपाली काङ्ग्रेस विधि, विधान र प्रक्रियामा चल्ने लोकतान्त्रिक पार्टी हो भने त्यसैअनुसार चल्नुपर्छ।
नेपाली कांग्रेसको विधानको दफा ३४ (४)को (ङ)अनुसार जिल्ला कार्यसमितिअन्तर्गतको समितिले केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार राख्दैन। जिल्ला समितिले केन्द्रीय सदस्य डा. गोपाल दहितलाई स्पष्टीकरण लिन खोज्नु नेपाली काङ्ग्रेसको विधानलाई उल्लंघन गर्नु हो र अर्को महत्त्वपूर्ण कुरा यदि कसैले अन्तरघात नै गरेको छ भने नेपाली काङ्ग्रेसको विधानले वडा समिति, नगर समिति, प्रदेश समिति, क्षेत्रीय समितिको सिफारिसमा जिल्लालाई प्रमाणसहित चुनाव अगाडि पेस गर्नुपर्छ।
त्यसैअनुरुप स्पष्टीकरण लिने, कारबाही गर्ने चुनावभन्दा अगाडि नै गर्नुपर्छ। तर, यहाँ सबै विधि प्रक्रिया मिची चुनावको नतिजा आइसकेपछि बैशाख २८ गतेको ‘फेक’ मिति राखी जेष्ठ ७ गतेतिर प्रक्रिया विपरित कारबाहीको सिफारिस गरेका छन्। यो बर्दियाको काङ्ग्रेसभित्र एकदमै दु:खद कुरो हो।
तपाइँ वडाध्यक्षको आकांक्षी हुनुहुन्थ्यो, तपाइँ नजिककै मिनराज चौधरी पालिका अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो। कतै टिकेट नपाएर अन्तर्घात गरेको हो भनेर शंका गरेर स्पष्टीकरण सोधेका हुन् कि?
जनताको विश्वास, उहाँहरुको माग, चाहनाअनुसार म आफ्नो वडा र मिनराजजी गेरुवा पालिकाको प्रमुखमा आकांक्षी उम्मेदवार थिए। तर, आम जनताको मागलाई लत्याएर एकलौटी ढंगले टिकट वितरण गरियो त्यो एकदमै अन्यायपुर्ण हो। संगठन सबैको साझा हो, टिकट वितरण गर्दा जिम्मेवार नेताहरू समन्वय र समझदारी गरेर जानुपर्ने थियो।
तर, त्यो गर्न सकेनन्, हो त्यहाँ कमीकमजोरी भएको छ। आज त्यो कमजोरी भए पनि हामीले पार्टीले निर्णय गरिसकेपछि अब पार्टीलाई जिताउनुपर्छ भन्ने प्रतिबद्धताका साथ धेरै मिहिनेत गरेर आफ्नो वडालाई जितायौं। मेयरले पनि पहिलो निर्वाचनको भन्दा बढी मत पाए, तर अरु वडाबाट जित हासिल गर्न नसकेकाले हाम्रो मेयर हार्नु भयो।
मैले अन्तर्घात नै गर्न खोजेको भएँ, म बागी उठ्थे किन सहयोग गर्थे? जनलहर मेरो पक्षमा थियो। जनताप्रति विश्वास र मेरो आत्मविश्वासले म स्वतन्त्र बागी उठेपनि विजय हासिल गर्थे। तर त्यो गद्धारी गरिनँ, मैले टिकट नपाए पनि आफूले सकेजति सहयोग गरेँ। दु:खद कुरा आज हामी यति धेरै सहयोग गर्दागर्दै पनि स्पष्टीकरण सोधिएको छ। ल ठीक छ, शंका नै छ भने जनतासामु जानुस्, प्रमाण पेस गर्नुस्, मैले अन्तर्घात गरेको छु भने अहिले पार्टीबाट राजीनामा दिन्छु। तर म त्यो युवा होइन, गलत आरोप सहेर बस्ने, सकेसम्म मप्रति लागेको आरोप सच्याइ जनतासामु जाने ल्याकत राख्छु।
मेयरलाई तपाईँको वडाबाट क्रस मत गएको भन्ने आरोप छ नि ?
केही वडामा क्रसिङ मत आएको छ, त्यो हाम्रो वडामा मात्र होइन, धेरै वडामा छ। कुनै पनि पार्टीले आफ्नो साधारण सदस्य र क्रियाशिल सदस्यको आधारमा भोटको दाबी गर्दा उपयुक्त हुन्छ। यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने आम जनता कुनै पार्टीको हुँदैनन्। नेपालको संविधानले दिएको मौलिक अधिकारअनुसार उनीहरुलाई जुन पार्टी मन पर्छ त्यही पार्टीको उम्मेदवारलाई भोट दिने हुन्। मेरो पार्टीलाई भोट दिएनन, एक छापे आएन, क्रसिङ भयो भनेर कसैलाई आरोप लाउनु नै गलत हो।
आज काठमाडौंजस्तो सबैभन्दा ठूलो महानगरपालिकामा बालेन साह र धरानजस्तो उपमहानगरपालिकामा हर्क साङपाङजस्तो स्वतन्त्र ब्यक्ति किन जिते? ठूल्ठूला दलका उम्मेदवार किन पराजित भए? आफ्नो उम्मेदवार हार्यो भन्दै अब आ-आफ्नो पार्टीको सबै नेता कार्यकर्तालाई कारबाही गर्दै हिँड्ने हो? जनताको अधिकारलाई बन्दी बनाउन मिल्दैन उनीहरुको स्वतन्त्रता छिन्न मिल्दैन, लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताको मताधिकारलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्छ। जनता निर्णय अन्तिम निर्णय हो।
तपाईंलाई युवाहरूले आइडलको रुपमा हेर्छन्। जनताको मन जितेपनि नेताहरुको के कारणले मन जित्न सक्नु भएन ?
म लामो समयदेखि सामाजिक र अधिकार र पहिचानको आन्दोलनमा लागेको युवा हुँ। अन्याय, विभेद् र उत्पीडनमा परेका जाति, वर्ग र समुदायको लागि संघर्स गर्दै आइरहेको छु। मेरो कामको मूल्यांकन गरेर मेरो समाजले मलाई दुईपटक ‘बेस्ट अफ युथ लिडर’बाट सम्मानित गरिसकेको छ। म त्यो सम्मानको लायक थिएँ वा थिइनँ, त्यो समाजले जानोस् तर मलाई समाजको लागि केही गरौं भन्ने चाहाना छ। आफूले सकेजति सहयोग गर्दै आएको छु।
पार्टीमा पनि मैले जिम्मेवारीपूर्वक काम गरिरहेको थिएँ। संगठन निर्माणमा पनि रातदिन काम गरि रहेको थिएँ। नगर समितिलाई पनि सिस्टमेटिक तरिकाबाट हाम्रो टिमले अगाडि बढाइराखेका थियो। जनता र कार्यकर्ताबाट सहयोग र विश्वास पाइरहेको थिएँ भने पार्टीको नेताहरूबाट त्यो विश्वास कहिल्यै पाउन सकेन। यसरी रातदिन काम गर्दा पनि नेताहरुको मनमा खोइ के कारणले हो बस्न सकिएन त्यो नेताहरूले नै जानुन्। नेताहरुले विश्वास गरोस् वा ना गरोस्, तर जनताको विश्वासचाहिँ जित्नुपर्छ भन्ने सोच म राख्छु।
अर्को कुरा, तपाईँहरुमाथि जातीय राजनीति गरेको आरोप पनि लगाइएको छ नि?
मैले बुझेको राजनीति जनतालाई अधिकार सम्पन्न बनाउनलाई गरिन्छ। नेपाली काङ्ग्रेस संघीय लोकतान्त्रिक ब्यवस्थामा आधारित पार्टी भइसकेकाले अब यो पार्टीले जातीय र धार्मिक सोचभन्दा माथि रहेर उत्पीडन, पहिचान र समावेशीको मुद्दा बोक्नुपर्छ। हाम्रो देशमा जातीय, वर्गीय, भौगोलिक र लैङ्गकिक उत्पीडन छ। उत्पीडनमा परेका जनताको मुद्दाहरु काङ्ग्रेस, माओवादी, एमाले सबै ठूला दलका नेताले उठाएर त्यहीँबाट आ-आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका हुन्।
दासत्वविरुद्ध लड्ने नेपाली काङ्ग्रेस, कमैयामुक्ति घोषणा गर्ने नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा नै हुन्। जातीय पहिचानको लागि आन्दोलन गर्ने माओवादीका नेता प्रचण्ड नै हुन्। सुकुम्बासी आन्दोलन गर्ने एमालेका स्वर्गीय नेता मन मोहन अधिकारी नै हुन्। यी मुद्दाहरु बोकी आन्दोलन गर्ने उहाँहरुलाई जातीय राजनीति गरेको आरोप लाउने हो? उहाँहरुले हाम्रो मुद्दाको विषयमा बोल्दा राष्ट्रवादी, क्रान्तिकारी नेता हुने, अनि हामीले आफ्नै उत्पीडनको विषयमा बोल्दा जातिवादी आरोप खेप्नुपर्ने यो कहाँको न्याय हो? मेरो प्रष्ट विचार सबै थारु असल र सबै बाहुन क्षेत्री खराब भन्ने मानसिकता नै गलत हो।
असल र खराब ब्यक्तिको ब्यवहार र चरित्रमा भर पर्छ। उत्पीडन अन्यायमा परेका बर्दियाको थारुमात्र होइन, कर्णालीको बाहुन क्षेत्री पनि राज्यको मूलधारमा आउनुपर्छ। देशको संविधानले परिकल्पना गरेको साझा सहभागीता, समान अधिकार, सम्मानपूर्ण ब्यवहार र समान प्रतिफल प्राप्तिका लागि हामिले मन फराकिलो गरि सोच्नुपर्छ। सबै कुरालाई जातीयतासँग नजोडौं, त्यसलाई राष्ट्रिय, पहिचान र देशको सम्पदासँग पनि जोडौं।
बर्दिया जिल्लामा थारुहरुको बहुमत छ। तैपनि राजनीतिकरुपले किन त्यहाँका थारुहरु पछाडि छन्?
प्रतिशतको अनुपातमा नेपालको सबैभन्दा बढी थारुहरु बर्दिया जिल्लामा बसोबास गर्छन्। जहाँ ५३ प्रतिशत थारु समुदायमात्र छन्। अहिले नेपालको चौथो जनसंख्या ६.६ प्रतिशत थारुहरु राज्यको पहुँचमा जम्मा ०.७ प्रतिशतमात्रै छन्। सबै पार्टीमा थारुहरुले गरेको त्याग र बलिदानी ऐतिहासिक छ। २००७ सालको काङ्ग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक आन्दोलन होस्, २०४६ सालको बहुदलीय ब्यवस्थाको आन्दोलन होस् वा २०५१ सालमा माओवादीले सुरुवात गरेको जनयुद्ध नै होस् सबै देश र जनताले मागेको परिवर्तनकारी आन्दोलनमा थारु समुदायको ठूलो भूमिका छ।
हरेक परिवर्तन आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थारुहरु साँस्कृतिक र सामाजिकरुपमा अगाडि रहे पनि राजनीतिक र प्रशासनिकरुपमा निक्कै पछाडि छन्। थारुहरुको समस्या भनेको सांगठनिक र साँस्कृतिक रुपमा एक भएका थारुहरु राजनीतिक रुपमा एक हुन सकेको अवस्था छैन। राज्य, पार्टीभित्रको शासक र आफ्नै समुदायभित्रका शासक थारुहरुको घेराबन्दीमा चलिरहेको बर्दियाका थारुहरुको राजनीति एकदमै चुनौतीपूर्ण छ।
शोषक सामन्ती जमिनदारबाट शोषणका शिकार भएका थारुहरु राजनीति र आर्थिकरुपमा कहिल्यै अगाडि आउन सकेनन्। बर्दियामा अधिकांश थारुहरु कमैया कमलरीको जिन्दगी बिताए। उनीहरुको आफ्नो जमिन नहुने जमिनदारको जमिन जोत्दै जिन्दगी बित्यो। दुई छाक कसरी खाने चिन्ता भएको थारुहरु कहाँबाट पढाइ लिखाइ गरून्? कहाँबाट राजनीति गरुन्। त्यही परिस्थितिबाट गुज्रिएर आएको थारूहरु बर्दिया जिल्लामा राजनीतिमा पछाडी परे। तर अहिले त्यो परिस्थितिभन्दा फरक छ थारुहरुमा पनि राजनितीक चेततना आइसकेको छ।
राजनीतिकरुपले स्थापित हुन थारुहरुले के गर्नुपर्छ तपाईँको विचारमा?
मैले देखेको राधाकृष्ण थारु पछाडि बर्दियामा कुनै पनि थारुको छोरोले काङ्ग्रेसमा स्थापित हुन सकेनन् वा हुन दिएनन यो एउटा गम्भीर समिक्षाको विषय हुन सक्छ। यो समस्या सबै पार्टीमा छ। अहिले नयाँ सोच भिजन भएका पढेलेखेका थारु युवाहरू राजनीतिमा आउन खोजिरहेका छन्। यसको लागि पार्टीका जिम्मेवार नेताहरूले साथ समर्थन र सहयोग गर्नुपर्छ।
अधिकांश हाम्रो समुदायमा कुनै व्यक्ति अगाडि बढ्न थाल्यो भने हात दिनुको सातो खुट्टा तान्ने प्रवृत्ति छ। यस्ले राजनीतिकरुपमा स्थापित गर्दैन झन् राजनीति र ब्यक्तिप्रति वितृष्णामात्रै बढाउँछ। राजनीति साझा विचार, साझा नेतृत्व र एक अर्कोको विश्वासबाट चल्ने भएकाले ब्यक्तिवादी सोच नराखी युवाहरूलाई पनि नेतृत्वको अवसर दिनुपर्छ। ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैलाई समेटिएर गयो भने थारुहरु पनि राजनीतिकरुपमा स्थापित हुँदै जान्छन्।
देश आम निर्वाचनको संघारमा छ। तर बर्दियाका कांग्रेसीहरु कारबाही गर्न र कारबाही नगर्न भन्दै प्रधानमन्त्रीलगायत शीर्ष नेतृत्वमा दौडधुप गरेको देखिन्छ नि ?
जसले गल्ती गर्यो, उसले सजाय पाउनुपर्छ भन्ने मान्यता म पनि राख्छु। तर, गल्ती एक पक्षीयमात्र हुँदैन। गल्ती दुबै पक्षबाट पनि हुनसक्छ। त्यो बसेर छलफल, सम्वाद गरौं। जहाँ जसले गल्ती गरेको छ, आत्मसमीक्षासहित आत्मलोचना गरौं। राजनीतिक संस्कार त्यो हो। जति शंका उपशंका रिसराग छ बर्दियामा बसेर प्रष्ट पारौं। तर दुनियाँलाई देखाएर कारबाही पत्र बोकेर बालुवाटार जानू भनेको बर्दियामा काङ्ग्रेसको राजनीति कमजोर बनाउनुमात्र हो।
यसले बर्दियालाईमात्र होइन, सिंगो नेपाली काङ्ग्रेस पार्टीलाई ठूलो असर पार्छ। कारबाही गर्न र कारबाही रोक्न दुबै पक्ष प्रधानमन्त्री कहाँ दौडधुप गर्नुको कुनै अर्थ मचाहिँ देख्दिनँ, यसले नेता कार्यकर्ताबीच दरार सिर्जनामात्र गर्छ। नजिकै आउन लागेको प्रदेश र संघको चुनावमा नराम्रो असर गर्छ।
तपाइँहरु पनि विजय गच्छदारदेखि प्रधानमन्त्रीसम्मलाई भेट गर्नुभयो। उहाँहरुको प्रतिक्रिया के थियो ?
हो, म पनि बर्दियाका नेताहरुसँगसँगै उहाँहरुलाइ भेट्न गएको थिएँ। गच्छदार र प्रधानमन्त्रीज्युलाई भेट्नुको उद्देश्य बर्दियाको समग्र विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा जानकारी र बर्दियामा जुन किसिमले नेपाली काङ्ग्रेसभित्र व्यक्तिको अंहकारी स्वाभावले संगठनमा बेइमानी गर्दे संगठन कमजोर पार्ने विकृत राजनीति चलिरहेको छ, यसको ब्यवस्थापन कसरी गर्ने भनेर बर्दिया जिल्लाको केन्द्रीय नेताहरुको भनाइ थियो।
गच्छदारज्युले आफ्नो अनुभव र पीडा सुनाउनुभयो। नेपाली काङ्ग्रेस ठूलो पार्टी हो, यस पार्टीभित्र अचम्मको मान्छेहरू छन्। जो व्यक्ति आफैं उम्मेदवार छ, आफैं हारेको छ, अनि आफैं कारबाही खानुपर्ने यो एकदमै अचम्म अन्यायपूर्ण काम भएको छ। मैले यति लामो जिन्दगी राजनीति गरेको छु। अनुभव छ मसँग, सबैको राजनीति बुझेको छु, देखेको छु। ठीक छ, कारबाही गर्न दिनु, हामी पनि छौं भन्नूभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाज्युको प्रष्ट भनाइ थियो- कुनै व्यक्तिको पूर्वाग्रही सोच र शंकाको भरमा कसैलाई कारबाही हुँदैन। बिना आधार प्रमाण शंकाको भरमा कोसले गर्छ कारबाही? जिल्लाले केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने हो कसले भन्यो? भनेर उल्टै डेलिगेसन टोलीलाई सोध्नुभयो। मैलै सबै कुरो बुझेको छु। संगठन लोकत्रान्त्रीक संस्कारले चल्ने हो व्यक्तिको मनोमानीले होइन। तपाईंहरु जानु विधि विधान मिचेर मै हुँ भन्नेलाई बरु कारबाही हुन्छ, तपाईंहरु कसैलाई कारबाही हुँदैन भन्नुभयो।
बर्दिया कांग्रेसमा के सुधारको आवश्यकता देख्नु भाछ ?
अहिले बर्दिया जिल्ला निक्कै भाग्यमानी जिल्ला हो। बर्दिया जिल्लाले ३ वटा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसहित एउटासह महामन्त्री पाएको छ। इतिहासमा बर्दिया काङ्ग्रेसको यो नै सबैभन्दा बढी उपलब्धि होला। यति शक्तिशाली भएको अवस्थामा जनताको लागि नेपाली काङ्ग्रेसले थुप्रै कामहरू गर्नसक्छ। तर अहिले बर्दिया काङ्ग्रेसको राजनिती हेर्दा धेरै बिरालोहरु मुसा मार्दैनन् भन्याजस्तो भएको छ। केन्द्रीय नेताहरूको एक आपसमा लडाइको कारण इमानदार कार्यकर्ताहरु पनि बाँडिएका छन्।
काङ्ग्रेसमा भविष्य देख्ने युवाहरू अहिले काङ्ग्रेसको आन्तरिक द्वन्द्वको कारण आफ्नो भबिस्य असुरक्षित देख्न थालेका छन्। प्रतिशोध लिएर कसैलाई फाइदा गर्दैन। पार्टीमा सबैको योगदान छ। पार्टीभित्र भएको कमि कमजोरीलाई आत्मसमिक्षा गर्दै एक अर्काको सह अस्तित्वलाई स्वीकार गरेर अघि बढ्यो भने मात्र बर्दियाको काङ्ग्रेस बलियो हुन्छ। अहिले नेपाली काङ्ग्रेसलाई जनताले विश्वास गरिरहेको अवस्था छ। त्यो विश्वासलाई बर्दियाका काङ्ग्रेसी नेताहरू बुझून् र एक ठाउँमा आउन भन्ने शुभकामना।
[ अन्तर्वार्ता थारुवान डटकमबाट लिइएको हो , जसको लेखक थारु समुदायका युवा नेता एवंम कांग्रेसको राजापुर नगरका सचिव हुन्। ]