खाडीमा भन्दा खेतबारीमा रमाउँदै सन्तोष।

दाङ:= ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन…’ गायिका अरुण लामाको यही गीतका शब्दजस्तै सन्तोषको जीवन पनि सोचेजस्तो भएन । वैदेशिक रोजगारीका लागि विदेश जानुभएका रोल्पा थवाङका सन्तोष घर्तीमगर अहिले स्वदेश फर्केर अर्कै जीवन भोगिरहनुभएको छ । तरकारी बारीमा। रोल्पाका सन्तोष खाडीमा भन्दा बारीमा सन्तोष हुनुहुन्छ ।

खाडीले भन्दा बारीले उहाँलाई प्रतिफल दिएको छ । सन्तोषको खाडीमा काम गर्नुपर्दाको पीडालाई तरकारी बारीमा काम गर्दाको आनन्दले भुलाएको छ । अर्काको गुलामीको कमाइमा भन्दा आफ्नै मिहिनेतको कमाइले उहाँको मन खुसी छ । रोल्पा थवाङ घर भए पनि दाङ झरेर सन्तोषले सातजना युवाहरूको समूह बनाएर सामूहिक तरकारी खेतीमा हुनुहुन्छ । अहिले सन्तोषसहित सात युवाहरू २० बिगाहा जग्गामा लगाइएका तरकारीमा रमाइरहनुभएको छ ।

सन्तोषको बिहानैदेखिको दैनिकी घोराही उपमहानगरपालिका-१३ तरकारी बारीबाट सुरु हुने गरेको छ । साथमा उहाँका सहलगानीकर्ता साथीहरू पनि छन् । उहाँ तरकारी बारीमा गोलभेडाका पात काट्दैको अवस्थामा भेटिनुभयो । उहाँसँगै अरू युवाहरूले पनि गोलभेंडा खेती स्याहारी रहनुभएको थियो । उहाँको दैनिकी केही वर्षयता यसरी नै बित्ने गरेको छ । ‘स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशबाट फर्केको हुँ, यहाँ साथीभाइ मिलेर तरकारी खेती गर्दै आएका छौं’, सन्तोषले भन्नुभयोे । त्यसो त उहाँको जन्मथलो रोल्पा हो । तर, त्यहाँ व्यावसायिक तरकारी खेतीका लागि उपयुक्त जमिन नभएकाले उपयुक्त स्थानमा जग्गा भाडामा लिएर यो पेसामा जोडिएको बताउनुहुन्छ ।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवाहरू विदेशिने गरेका छन् । तर, सन्तोषसँगै अन्य सातजना युवाहरू मिलेर सात वर्ष अघिदेखि कृषि कर्म गरिरहेका छन् । घोराही उप-महानगरपालिका-१३ र घोराह-१८ मा गरेर २० बिगाहा जग्गा उनीहरूले तरकारी खेतीका लागि लिजमा लिएका हुन् । अहिले बारीमा विभिन्न जातका तरकारीहरू हुर्किरहेका छन् । बेमौसमी तरकारी उनीहरूको चाहना भए पनि अहिले उनीहरूले बारीमा गोलभेंण्डा, काउली, सिमी र केराउ रोपेका छन् । दशैँ तिहारसम्म तरकारी तयार हुने उनीहरूको आशा छ ।

रोजगारको लागि विदेश जानुभएका सन्तोषले करिब तीन वर्ष उतै बिताउनुभएको थियो । तर, भनेजस्तो नभएपछि स्वदेशमा नै केही गर्नुपर्दछ भनेर कृषि पेसालाई अगाडि बढाएको बताउनुभयो । ‘सानैदेखि नै कृषि पेसा गर्दै आएकाले यसैलाई अगाडि बढाउनुपर्दछ भनेर यसैमा नै लागियो’, सन्तोषले भन्नुभयो । तरकारी खेती गर्नुभन्दा पहिले उहाँले कुखुरा पालन पनि गर्नुभएको थियो । तर कुखुरा पालनमा भनेजस्तो फाइदा नभएपछि उहाँ हाल तरकारी खेतीमा जोडिनुभएको हो, समूह बनाएर । तर, यति धेरै जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्दा पनि सरकारी निकायको कुनै पनि सहयोग नभएकोमा उहाँको गुनासो छ ।

उहाँहरूले आफूहरूबाहेक ४० जनालाई रोजगारसमेत दिनुभएको छ । क्षेत्र विस्तार गर्दै गएमा थपलाई रोजगार दिन सक्ने उहाँहरू बताउनुहुन्छ । रोजगारको लागि विदेशिने युवाहरूलाई स्वदेशमा नै केही गर्न उहाँहरू सुझाव दिनुहुन्छ ।