काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गरेरै छाड्ने बताइरहेका बेला केन्द्रीय अनुशासन समितिले कारबाहीका लागि परेका उजुरीमाथिको छानविनलाई तीव्रता दिएको छ । केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिले दिनहुँजसो बैठक बसेर देशभरीबाट पार्टीको आन्तरिक कारबाहीका लागि परेका उजुरीमाथि छानविनका तथा अध्ययन गरिरहेको छ ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले खडा गरेका उम्मेदवारविरुद्ध अन्तरघात गरेर विपक्षी दललाई सघाएको भन्दै अनुशासन समितिमा देशभरीबाट १२ सयभन्दा बढी उजुरी परेको अनुशासन समितिले जनाएको छ । संयोजक आङ्दम्बेले सातवटै प्रदेशबाट १२ सयभन्दा बढी उजुरी परेको र प्रारम्भिक चरणमा उजुरीमाथि छानविन भइरहेको जानकारी दिए ।
‘सातैवटा प्रदेशका ७७ वटै जिल्लाबाट १२ सयभन्दा बढी उजुरी आएको छ । हामी अहिले उजुरीको केस अध्ययनमै छौं,’ उनले हिमालय टाइम्ससँग भने, ‘आधाजति सकिएको छ । चाँडै एउटा टुंगोमा पुग्छौं ।’ हाल केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा गठित समितिमा परेका उजुरीबारे आफूहरूले अध्ययन गरिरहेको आङ्दम्बेको भनाइ छ । ‘पहिलाको समितिले सोधेकामध्ये कतिको स्पष्टीकरण आएको छ, कति बाँकी छ भनेर हेर्दै छौं,’ उनले भने, ‘कतिलाई सोध्न बाँकी छ । सबैको अध्ययन गरेपछि प्रोसेसमा जान्छौं । अहिले त्यसैमा लागिरहेका छौं ।’
अनुशासन समितिमा परेका उजुरीलाई मसिनो गरी अध्ययन गरेर प्रकृति हेरेर उजुरीको वर्गीकरण गरिसकेपछि स्पष्टीकरणका लागि कसरी अगाडि जाने भन्ने विषयमा समितिमा छलफल गरिने संयोजक आङ्दम्बेको भनाइ छ । ‘केस स्टडी नगरी अगाडि बढ्न समस्या हुने भएकाले अहिले उजुरीहरू मसिनो गरी हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रकृति हेरेर उजुरीको वर्गीकरण गरेर स्पष्टीकरण सोध्ने र कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर तय गर्छौं ।’
अनुशासन समितिमा परेका अधिकांश उजुरी तीनवटै तहका निर्वाचनमा पार्टीले टिकट दिएका उम्मेदवारलाई असहयोग गरेको आशय रहेको जानकारी दिँदै आङ्दम्बेले ती उजुरीमा औचित्य पुष्टि हुनेगरी आवश्यक प्रमाण पनि हेरिने बताए । समितिले नेतृत्वको बदनाम गर्ने मनशायले बिनाप्रमाण उजुरी दिएका नेता–कार्यकर्तालाई समेत कारबाहीको दायरामा राखेको छ । प्रमाण पुगेका उजुरीका आधारमा बिनाभेदभाव कारबाही गरिने संयोजक आङ्दम्बेको भनाइ छ ।
अनुशासन समितिमा सभापति देउवादेखि अनुशासन समितिकै सदस्य देवेन्द्रराज कँडेलविरुद्ध उजुरी परेको छ । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवाविरुद्ध उजुरी दर्ता गराएका हुन् । उनले गत वर्ष केपी ओली नेतृत्वको सरकारको वार्षिक नीति तथा कार्यक्रमको समर्थन गरेको भन्दै सभापति देउवाविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका हुन् ।
अनुशासन समिति सदस्य कँडेलविरुद्ध नवलपरासीका पूर्वसांसद विक्रम खनालले उजुरी दिएका हुन् । यस्तै, तनहुँका नेता गोविन्दराज जोशीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारका लागि भोट मागेको भन्दै उजुरी परेको छ । जोशीले बागी उम्मेदवारी दिन खोज्दा कांग्रेस हारेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उनी उजुरी दर्ता गराएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट पौडेलविरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएका थिए । तर, पौडेलकै पहलमा जोशीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि उनको उम्मेदवारी खारेज भएको थियो । भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै जोशीको उम्मेदवारी खारेज भएको हो । जोशी पक्षले पनि वरिष्ठ नेता पौडेल र तनहँुका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले कांग्रेसलाई हराएको दाबी गर्दै उजुरी गरेको छ । एउटा बुथमा नेता पौडेलले ७० भन्दा बढी भोट पाउँदा प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराईलाई ६ भोट मात्रै आउनुमा पौडेल पक्षको अन्तरघातले भूमिका खेलेको जोशी पक्षको दाबी छ ।
स्याङ्जामा पूर्वउपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका कारण चुनावमा पराजित हुनुपरेको दाबी गर्दै कांग्रेसका पुराना नेता भोजराज अर्यालले अनुशासन समितिमा उजुरी दिएका छन् । श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा चुनावमा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप लगाइएको छ । सभापति देउवापत्नी आरजु राणा देउवालाई प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको दाबी गर्दै कैलालीका नेता पुष्करनाथ ओझाविरुद्ध पनि उजुरीपरेको छ । ओझा २०७० को संविधानसभा निर्वाचनमा देउवा निर्वाचित कैलाली–५ बाट उपनिर्वाचन लडेर संविधानसभा सदस्य बनेका थिए ।
त्यस्तै, रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले पूर्वस्थानीय विकास राज्यमन्त्री दुर्योधनसिंह चौधरीविरुद्ध अन्तरघात गरेको भन्दै उजुरी दर्ता गरेका छन् । देउवाको गृहजिल्ला डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्ल, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, दैलेख सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्ला सभापति जितबहादुर शाही र रुकुमकी सांसद मिठु मल्लविरुद्ध पनि अनुशासन समितिमा उजुरी परेको छ । जापान र बेल्जियमको जनसम्पर्क समितिमा हस्तक्षेप गरी अधिवेशन गर्न नदिएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलविरुद्ध समेत उजुरी परेको स्रोतले बताएको छ ।
अनुशासन समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । महासमिति सदस्यसमेत रहेका खनियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि चितवनबाट सिफारिशको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । निर्वाचनमा पार्टीले टिकट दिएका उम्मेदवारलाई असहयोग गरेको, विपक्षी दलका उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेकोे, टिकट वितरणमा मनोमानी भएकोजस्ता विषयमा बढी उजुरी परेको स्रोतले जनाएको छ ।




















