नेपालको राजनीति: पार्टी नेतृत्वकर्ता विरुद्ध बोल्यो कि पोल्यो।

[ डिबी शर्मा ] 

काठमाडौं := नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीको नाम लिनेबित्तिकै धेरैको दिमागमा दुई/तीनवटा चित्र आउँछन् । पहिलो हो जनआन्दोलन पछि सामाजिक सञ्जालमा छाएको उहाँको रक्तमुच्छेल तस्वीर । दोस्रो जनआन्दोलनको अग्र मोर्चामा सक्रिय झाँक्रीको त्यही तस्वीरले उहाँको पछिल्लो राजनीतिक छवि उँचो बनाएको थियो । त्यो अब पुरानो भइसक्यो । त्यसपछि उहाँको दोस्रो तस्वीरले तहल्का पिट्यो । दोस्रोमा उहाँले मुखमा टेप टाँसेर विरोध गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७, पुस ५ गते संसद् विघटन गरेपछि त्यसको विरोधमा लोकतन्त्रमा बोल्न पाउनुपर्ने भन्दै झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध कार्यक्रममा मुखमा टेप लगाएर स्टेज चढ्नुभएको थियो । अनि टेप खोल्नुअघि ‘प्रतिगमन मूर्दावाद’ लेखिएको कपडा शरीरबाट झिकेपछि भाषण गर्नुभएको थियो । त्यसपछि मुखमा लगाएको टेप देखिएको थियो । मुखमा लगाएको टेप उप्काएर फाल्दै उहाँले भन्नुभएको थियो, ‘बोल्न पाइन्छ, हामी बोल्न जन्मिएका हौँ ।’

त्यसको चर्चा निकै समय भयो । अब त्यो पनि पुरानो भइसक्यो । त्यसपछि नेकपा एमालेको विभाजनका बेला एउटा अर्को तस्वीर आइकोनिक बनेको थियो । युवा नेतृ झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्‍याएको दृश्यले धेरैको ध्यान खिचेको थियो । समग्र युवापुस्ताको प्रतिनिधि मानिएको दृश्यमा झाँक्रीको बोल्ड चरित्र नै झल्किएको थियो । दोस्रो पुस्ताका अधिकांश नेताहरूले विभाजनको जँघार तर्न तिघ्रा कमाएपछि माधव नेपालको नाडी समातेर उहाँ आफैँ अघि सर्नुभएको थियो ।

हात दिएकैले साथ छोडे, झाँक्रीलाई झट्का
झाँक्रीसँग जोडिएका यी सन्दर्भ सम्झिनुको अर्थ छ । तीन वर्ष अगाडि अध्यक्ष नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गर्दा सबैभन्दा दह्रो साथ दिनेमध्येकी एक झाँक्री अहिले पदाधिकारीभित्र नै अटाउन सक्नुभएन । उहाँ उपाध्यक्षमा पराजित हुनुभएको छ । महिला उपाध्यक्षतर्फ उम्मेदवारी दिनुभएकी झाँक्री अन्ततः पूर्वउपाध्यक्ष जयन्तीदेवी राईसँग पराजित हुनुभयो, त्यो पनि अध्यक्ष नेपालकै योजनामा । सुरुमा सर्वसम्मत रूपमा पदाधिकारी चुन्न कोसिस नभएको होइन, तर, बहुमत केन्द्रीय सदस्यले नमानेपछि आन्तरिक निर्वाचन भएको थियो ।

कतिसम्म भने उहाँलाई हराउन अध्यक्ष नेपालले सर्कुलर (चिट) नै जारी गर्नुभएको थियो । जिताउनुपर्ने पदाधिकारीहरूको नाम भन्दै माधवले लेखेको चिटमा जयन्ती देवी राईको नाम थियो तर, रामकुमारकी थिएन । महिला उपाध्यक्षतर्फ राई र रामकुमारीको उम्मेदवारी परेको थियो । यसपछि रामकुमारी माधवको ‘प्लान’अनुरूप पराजित हुनुभयो ।

यस्तो किन भयो त ? यसको एउटै कारण हो उहाँको विद्रोही स्वभाव । पछिल्लो समय उहाँले पार्टीका कुनै कुनै बैठकमा उपस्थित भएर सम्बन्धित मुद्दाहरूमा आफ्ना धारणाहरू राख्नुहुन्थ्यो । पहिलेजस्तो पार्टी काममा पनि उहाँ सक्रिय हुनुहुन्थेन । नेतृत्वको आलोचना गर्नुहुन्थ्यो । एमाले विभाजनको औचित्य पुष्टि गर्न सक्नुपर्ने धारणा राख्नुहुन्थ्यो । उहाँले पूर्वदल एमालेका नेताहरूसँग ‘हिमचिम’ बढाउनुभएको थियो । एकपटक उहाँले एमालेलाई ‘पुरानो घर’ र एकीकृत समाजवादीलाई ‘नयाँ घर’को संज्ञा दिँदै एमालेमै फर्किने छनकसमेत दिनुभएको थियो । त्यसबेला उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसासमेत गर्नुभएको थियो ।

यसअघि जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी हितविपरीत गतिविधि गर्नेलाई निर्ममतापूर्वक पार्टीबाट बाहिर्‍याइने अभिव्यक्ति दिनुभएको थियो । नेतृत्वको आलोचना गरेकै आधारमा पार्टीबाट पाखा लगाउन खोजिएको झाँक्री एक्लो नेपाली राजनीतिज्ञ होइन, यसैसाता नेतृत्वकै आलोचना गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल दलविहीन हुनुभएको थियो । यसअघि नेतृत्वकै आलोचना गरेको आधारमा एमाले नेता भीम रावल ‘घर न घाटको जस्तो’ बन्नुभएको छ ।

संस्थापक महामन्त्री दुई वर्षमै दलविहीन

नवगठित रास्वपाले संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाएको छ । पार्टी हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई मंगलबार साधारण सदस्यतासमेत खोसेको हो । रास्वपा स्थापना भएको दुई वर्ष मात्रै पुगेको छ । पार्टी स्थापना भएको दुई वर्षमै संस्थापक महामन्त्री दलविहीन बन्नुभएको हो । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायत आरोप पार्टीले लगाएको थियो । ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाउनुभएको थियो । प्रतिवेदनमा उहाँले सभापति लामिछानेको चर्को आलोचना गर्नुभएको थियो । रविकै कारण पार्टी ओरालोमा लागेको उहाँको आरोप थियो । पार्टी रवि क्लब बनेको भन्दै यसबाट मुक्त हुन नसके अर्को चुनावमा दुई÷चार सिट जित्न पनि गाह्रो हुने ढकालको मूल्यांकन थियो । आफूले रविलाई प्रश्न गर्दा कारबाही भएको उहाँको गुनासो छ । पार्टी सुधारको आवश्यकता रहेको औँल्याएपछि रविले निकटहरू आफूविरुद्ध परिचालित गरेको मुकुलको आरोप छ । ढकालले उल्टै लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नुपर्ने बताउनुभएको छ । उहाँले सभापति लामिछानेको नैतिकतामा समेत प्रश्न उठाउनुभएको छ । अर्थात् नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनुभएका ढकाल दुई वर्षमै दलविहीन बन्नुभएको छ ।

भूमिकाविहीन रावल

एमाले नेता डा. भीम रावल पछिल्लो समय राजनीतिक रूपमा ‘न घरको न परको’ जस्तो हुनुभएको छ । प्राविधिक रूपमा एमालेमै रहे पनि पार्टीमा उहाँको कुनै भूमिका छैन । एमाले अध्यक्ष ओलीले रावललाई भूमिकाविहीन बनाइदिनु भएको छ । रावलले एमाले परित्याग नगरे पनि पार्टीको कुनै भूमिका दिइएको छैन । सुदूरपश्चिम प्रदेशमा मात्रै होइन पार्टीमै वर्चस्व जमाउनुभएका रावल अन्ततः एक्लिनुभएको छ ।

उहाँको हालको अवस्था हुनुको मूलतः एउटै कारण छ, ओलीको प्रतिशोध । सार्वजनिक रूपमै आफ्नो आलोचना गर्न थालेपछि ओलीले रावललाई किनारा पार्दै जानुभएको हो । उहाँ ओलीसँग २०७४ फागुनमा एमाले र माओवादीबीच एकता हुँदैदेखि चिढिनुभएको थियो । तत्कालीन नेकपा हुँदा रावल सचिवालयमा समेटिनुभएको थिएन ।

ओली प्रधानमन्त्री हुँदासमेत उहाँले रावलका लागि बालुवाटारको ढोका बन्द गरिदिनुभयो । त्यसपछि ओलीसँग चिढिनुभएका रावलले संसद्बाटै सरकारको आलोचना गर्न थाल्नुभयो । ओलीसँग टाढिएपछि रावल माधव नेपालसँग नजिकिनुभयो र माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिनुभयो ।

तर, एमाले विभाजन हुँदा उहाँ एमालेमै रहनुभयो । त्यसपछि १० मंसिर २०७८ मा भएको १०औँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिनुभएका ओलीले प्रतिस्पर्धी रावललार्ई पार्टीबाट पूरै भूमिकाविहीन बनाइदिनुभयो । २०७९ मंसिरको निर्वाचनमा स्थानीय कमिटीले गरेको सिफारिश अनुसारको टिकट पनि ओलीले खोसिदिनुभयो । त्यसपछि रावल र ओलीबीच तीक्तता झनै बढ्यो । जुन अहिलेसम्म जारी छ ।