देश फर्केर के गर्ने ?

[ वाशुदेव “भरत” भट्ट ] 

७७ बर्षकी बुढी आमा मात्र सधै सोध्नु हुन्छ छोरा कहिले फर्किन्छस ? अब त म मर्नेबेला भैसक्यो फर्केन घरमा ” मैले जवाफ दिए “हामी सङ्ग भएको एक त्यही पाखा हो त्यो पनि घर माथिका पाखा हेर्छु उब्जनी छैन , गैरिखेत हेर्छु पानी छैन, मल खाद छैन, बजार छैन ,बजार भाउ छैन, कृषि अनुदान छैन , परिश्रमको मूल्य छैन कृषि बिमा छैन केही तलमाथि परिहाले कानुन पनि छैन आमा देशमा फर्केर मैले मलाई तपाईंलाई अनि  छोराछोरीलाई के गरेर पाल्नु?

बुढी आमा आफ्नै दिन सम्झिनु हुन्छ , खरखेत गरेर दैनिकी गरेको त्यही सुन्दर नेपाल तर मेरि बुढी आमालाई थाहा छैन देशले विकराल रुप लिइसक्यो भनेर। बेरोजगार बेरोजगार बेरोजगार यहि शब्द ले देश सकियो युवा सकिए अनि  मेरो आत्मविश्वास यति कमजोर थिएन आमा  न त म कुनै कुरामा कमजोर नै थिए मेरो सीप र बिचारको लागानी लगाउने ठाँउ पाएन क्षमता प्रदर्शन गर्ने अवशर पाएन म देशका लागि सधै कमजोर बनिरहे बिदेशीका लागि एक कुशल कामदार ।

प्रदेशी कसरी फर्किन्छ आमा परिश्रम गर्ने ठाउँ नै छैन ठाउँ भए हातमा सिप छैन , राजनीतिक पहुँच छैन पहुँच नभए मर्दाको मलामी सम्म छैन । सम्पत्ति भनेको तपाईंले दिएको संस्कार अनि यहि सकुशल २ हात २ खुट्टा हुन ।देशमा उद्योग कलकारखाना छैन, लगानीकर्ताको लगानी सुरक्षा छैन ,देशको कमाई ५०% खर्च ९०% छ त्यसमा पनि अचेत राजनीतिले भ्रस्टाचार मौलाउदो छ , छोराछोरीको गुणस्तरीय शिक्षा छैन, स्वस्थ्य उपचार बिमा छैन, यात्रा सुरक्षा छैन, सामाजिक सुरक्षा छैन, स्तरीय जिवनशैली छैन अनि  सोचेर डर लाग्छ अब देश फर्केर के गर्ने ?

देश फर्किन धेरैचोटि तयार भए आमा अझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको भिड हेरे , बेरोजगारीले देश छोड्नेको हुल हेरे ,बालबालिकाको आखामा उदाएका सपना हेरे , गरिबी हेरे , रिन हेरे , श्रीमतीको अपेक्षा हेरे दाजुभाइ दिदिबहिनी को चाहना हेरे , पैसा नहुदाको सामाजिक अपहेलनाको घाउ हेरे , इष्टमित्रको वचन हेरे , आफन्त साथिभाईको स्वभाव हेरे  अनि मन कट्क्क खायो फेरि डर लागेर आयो देश फर्केर के गर्ने?

मलाई स्वदेश फर्काउन २ जना मात्र राजी थिए एक मेरि आमा एक नेपाल आमा तर २ जना नै कमजोर भए ।आमा उमेरले कमजोर हुनुभयो नेपाल आमा ब्यवस्थाले कमजोर । मेरो देश यति घृणित कसरी बन्यो कसरी यति डरलाग्दो बन्यो मलाई मेरै घर जान डर लागेर आउछ अनि म सोच्छु कतै म कमजोर स्वार्थी भए कि ? फेरि २/४ जनालाई सोधे मलाई २०/२५ हजारको जागीर दिनुस् म नेपाल आउछु तर तिनीहरु आफै बेरोजगार र पिडित छन देश कतिबेला छोड्ने भनेर दिन गन्दै बसेका छन भने मैले देश फर्केर के गर्ने?

देश छोड्नेको लर्को छ आमा आज तपाईं एक्लो हुनुभयो मेरो देश यस्तै रहे भोलि मेरा सन्ततिले मलाई छोडेर जानेछ्न म एक्लो हुनेछु ।जस्का १ सन्तान थिए तिनीहरु त उहिले  एक्लो भैसकेका छ्न। माटो र देशको माया लागेर गुजारा न हुदो रहेछ आमा , पेट भर्न त अन्न चाहिने रहेछ लाज ढाक्न लुगा चाहिने रहेछ ।मलाई मेरो चिन्ता छ मेरो सन्तान बिदेश जान नपरोस भन्ने । मेरो देशले  मेरो परिवारलाई बिहान बेलुकी एक छाक मात्र टार्न जोहो गरिदिएन भने आमा त्यो देश फर्केर के गर्नु?

मेरो नजरमा २ देश भैसके एक ” नेपाल आमा” अनि अर्को  एक “नेपाल देश” ।नेपाल आमा सोच्दा आमाको माया लागेर आउँछ अहिले नै फर्केर जाउ जस्तो लाग्छ तर नेपाल देश सोच्दा मनमा डर लागेर आउँछ एउटै प्रश्न मनमा आउँछ देश फर्केर के गर्ने ? कयौं प्रश्न आफैलाई गर्छु उत्तर पनि आफै खोज्छु एकोहोरो सम्बादमा जिन्दगी चलेको छ। नेपाल  देशले त मलाई फर्काउदैन ग्यारेन्टी नै गरिसके मैले किनकी  उस्लाई मात्र रेमिटेन्स चाहिएको छ तर मेरि आमा र नेपाल आमाले मलाई फर्काउनु हुन्छ कि झिनो आशा लिएर बसेको छु ।