कोलम्बो:= एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाले पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ। श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे। सदिरा सामराबिक्रमाले ४८ रनको योगदान सहित यी दूईले एक सय रनको साझेदारी गरेका थिए । श्रीलंकाको जितमा चरिथ असालंकाले अविजित ४९ रन बनाए । ओपनर पाथुम निसानकाले २९ रन बनाएका थिए ।
पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामनले ४ रन बनाए । अर्का ओपनर अब्दुल्लाह सफिकले ५२ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रिजवानले ८६ रनको योगदान गरे ।
साविक विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिका लागि खेल्ने छ । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बंगलादेशसँग खेल्दैछ ।




















